
बर्दिवास, २० फागुन । न्यूजिल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ। भर्खरै सम्पन्न खेलमा दक्षिण अफ्रिकालाई ९ विकेटले हराउँदै न्यूजिल्यान्ड उपाधि नजिक पुगेको हो।
१७० रनको लक्ष्य न्यूजिल्यान्डले १५.५ ओभरमा १ विकेट गुमाएर भेट्टायो। उसका लागि फिल एलेनले शतकीय पारी खेल्दै किवी टोलिलाई फाइनलमा पुर्याए। ३३ बल खेलेका उनी १० चौका र ८ छक्का प्रहार गर्दै १०० रनमा अविजित रहे।
एलेनले न्यूजिल्यान्डका लागि सबैभन्दा छिटो अर्धशतक बनाउने कीर्तिमान पनि राखे। उनले १९ बलमा अर्धशतक बनाउँदै सो रेकर्ड राखेका हुन्। यस्तै, टिम साइफर्टले ५८ रनको योगदान दिए।
बलिङतर्फ दक्षिण अफ्रिकाका कागिसो रबाडाले एक विकेट लिए।
त्यसअघि कोलकातास्थित इडेन गार्डेन्समा टस हारेर पहिले ब्याटिङमा उत्रिएको अफ्रिकाले २० ओभरमा ८ विकेट गुमाएर १६९ रन जोड्यो। मार्को यानसेनले अर्धशतकीय पारी खेल्दै टोलिको लक्ष्य उकासे। ३० बल खेलेका उनले २ चौका र ५ छक्का प्रहार गर्दै ५५ रनमा अविजित रहे।
डेवाल्ड ब्रेभिसले ३४, ट्रिस्टन स्टब्सले २९ तथा एडेन मार्करमले १८ रन जोडे।
बलिङतर्फ न्यूजिल्यान्डका रचिन रविन्द्र, म्याट हेनरी र कोल म्याककोन्कीले दुई–दुई तथा लोकी फर्ग्युसन र जिमी निशमले एक–एक विकेट लिए।
न्यूजिल्यान्डले उपाधिका लागि भोलि हुने भारत र इंग्ल्यान्डबीचको खेलको विजेतासँग खेल्नेछ।
